
मानव विकास सूचकांक २०२३/२४ -नेपालको तीन स्थान सुधार

मानव विकास सूचकांकमा नेपालको सुधार भएको छ । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी)ले सार्वजनिक गरेको ‘गतिरोधको अन्त्यः ध्रुवीकृत विश्वमा सहकार्यको पुनर्कल्पना’ शीर्षकको सन् २०२३/२४ को प्रतिवेदनअनुसार नेपालको मानव विकास सूचकांक मान ०.६०१ पुगेको छ । राष्ट्रको प्रतिव्यक्ति कुल राष्ट्रिय आय (जिएनआई), मानव विकास सूचकांक, विद्यालय जाने औसत उमेर, साक्षरता, लैंगिक विकास सूचकांक, औसत आयुलगायतका आधारमा प्रतिवेदन सार्वजनिक गरिएको हो ।
अध्ययन गरिएका एक सय ९३ देशमध्ये नेपाल १४६औँ स्थानमा रहेको छ । तीन वर्षअघि सन् २०२१ मा नेपाल १४९औँ स्थानमा थियो । सन् २०२१ को तुलनामा नेपालको मानव विकास सूचकांकमा ०.०१० ले प्रगति भएको छ । जुन विश्वव्यापी औसत सूचकांक ०.००४ भन्दा बढी हो । नेपाल मध्यम मानव विकास श्रेणीको वर्गमा परेको छ । मध्यम मानव विकास श्रेणी भन्नाले मानव विकास सूचकांकको मान ०.५५० देखि ०.६९९ बीचको श्रेणीलाई जनाउँछ । सन् १९९० देखि २०२२ सम्म नेपालको प्रतिव्यक्ति कुल राष्ट्रिय आय (जिएनआई) करिब १६५.७ प्रतिशतले परिवर्तन भएको प्रतिवेदनमा उल्लेख छ ।